कानेपोखरीमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस भव्य रूपमा सम्पन्न ।

कानेपोखरीमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस भव्य रूपमा सम्पन्न ।

कोशी आवाज २०८३ श्रावण २४ गते आइतबार ।

विराटनगर । कानेपोखरी गाउँपालिका मोरङमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, कानेपोखरीको आयोजनामा कानेपोखरी–२ स्थित माझी टोलमा रहेको महासंघको आफ्नै भवनको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि तथा अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरीका अध्यक्ष खुल्लु राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा महासंघ मोरङका वरिष्ठ उपाध्यक्ष भोजवीर माझी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने राजवंशी समाज विकास समितिका केन्द्रीय सचिव सत्यनारायण राजवंशीलगायत विभिन्न जातजातिका नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भोजवीर माझीले आदिवासी जनजाति समुदाय आफ्ना हक, अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले आदिवासी जनजाति समुदायले आफ्नो अधिकार प्राप्तिका लागि संगठित र सचेत भएर आवाज उठाउनुपर्ने बताउनुभयो।

त्यस्तै, कार्यक्रममा सहभागी अन्य वक्ताहरूले अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई केवल औपचारिक रूपमा मनाउने दिनका रूपमा सीमित नगरी आदिवासी जनजातिका अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्राकृतिक स्रोत–साधनमाथिको अधिकारका विषयमा निरन्तर बहस र अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा कानेपोखरी गाउँपालिकाभित्र रहेका राजवंशी, धिमाल, चौधरी, तामाङ, शेर्पा, लिम्बू, राई, गुरुङ, थामी, भुजेललगायत विभिन्न आदिवासी जनजाति समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष खुल्लु राजवंशीले आगामी दिनमा आदिवासी जनजाति दिवस मनाउने कार्यमा मात्र सीमित नभई सबै आदिवासी जनजाति समुदायलाई साझा मुद्दामा एकताबद्ध गर्दै अधिकार, पहिचान र सामाजिक न्यायका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरीकी सचिव कमला योन्जनले गर्नुभएको थियो।