रङ्गेलीमा जबरजस्ती करणीमा ५ जना पक्राउ, मोरङ प्रहरी प्रमुखको विशेष चासो ।

रङ्गेलीमा जबरजस्ती करणीमा ५ जना पक्राउ, मोरङ प्रहरी प्रमुखको विशेष चासो ।

कोशी आवाज २०८३ श्रावण ११ गते सोमबार

विराटनगर । मोरङको रङ्गेलीमा जबरजस्ती करणी संलग्नमा रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा रङ्गेली नगरपालिका–३ आमटोला बस्ने १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी नगरपालिका–९ बस्ने २१ वर्षीय सुमनकुमार साह तथा रङ्गेली नगरपालिका–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह र रङ्गेली नगरपालिका–६ का १८ वर्षीय रितिक यादव रहेका छन्।

प्रहरीका अनुसार सुनवर्षी नगरपालिकाकी एक बालिकालाई फकाई–फुलाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा मोहम्मद अरमान पक्राउ परेका हुन्। त्यस्तै, सुनवर्षी नगरपालिका–९ का सुमनकुमार साहमाथि समेत जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, रङ्गेली नगरपालिका–७ स्थित संसारी मन्दिर नजिकै रहेको ‘द ९०s’ क्याफेमा एक युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा करण मण्डल, प्रियान्सु साह र रितिक यादवलाई प्रहरीले पक्राउ गरेको हो।

घटनालाई गम्भीरतापूर्वक लिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले समेत विशेष चासो देखाएका छन्। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन एसपी कटवाल स्वयं रङ्गेली पुगेको र इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख प्रहरी निरीक्षक अशोककुमार झासँग समन्वय गरी अनुसन्धान तथा पक्राउ प्रक्रियालाई तीव्रता दिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आरोपित पाँचै जनालाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीले घटनालाई संवेदनशील रूपमा लिएर अनुसन्धान गरिरहेको जनाउँदै, अनुसन्धानबाट दोषी ठहर हुने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउने जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको प्रत्यक्ष निगरानी तथा इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा भइरहेको अनुसन्धानले पीडितलाई न्याय दिलाउने र यस्ता संवेदनशील घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनेतर्फ प्रहरीले प्राथमिकता दिएको देखिन्छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको र घटनाको वास्तविकता अनुसन्धानपछि थप स्पष्ट हुने प्रहरीले जनाएको छ।