वडा अध्यक्ष मोहम्मद रोजित हुसेनको निरन्तर पहलपछि धनपालथानमा १० मिटर चौडा हुलाकी सडक र नाला निर्माण सुरु ।

वडा अध्यक्ष मोहम्मद रोजित हुसेनको निरन्तर पहलपछि धनपालथानमा १० मिटर चौडा हुलाकी सडक र नाला निर्माण सुरु ।

कोशी आवाज २०८३ असार २१ गते आइतबार ।

बिराटनगर । धनपालथान गाउँपालिका–६ का वडा अध्यक्ष मोहम्मद रोजित हुसेनको करिब ७–८ वर्षदेखिको निरन्तर पहल, संघर्ष र सम्बन्धित निकायमा गरिएको दबाबपछि हुलाकी राजमार्ग अन्तर्गत धनपालथान क्षेत्रमा १० मिटर चौडा सडक तथा दुवै किनारमा नाला निर्माणको काम सुरु भएको छ।

यसअघि रङ्गेली–कटहरी खण्ड फराकिलो बनाइँदा धनपालथान क्षेत्रमा सडकलाई केवल ७ मिटर चौडाइमा सीमित गर्ने प्रस्ताव आएपछि वडा अध्यक्ष हुसेनले त्यसप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका थिए। उनले धनपालथान क्षेत्रका नागरिकले पनि रङ्गेली–कटहरी खण्डसरह फराकिलो, गुणस्तरीय सडक र नालासहितको पूर्वाधार पाउनुपर्ने माग राख्दै निरन्तर आवाज उठाएका थिए।

वडा अध्यक्ष हुसेनका अनुसार, “हामीलाई पनि रङ्गेली–कटहरीजस्तै डिपिआरअनुसार चौडा सडक र दुवै किनारमा नालासहितको निर्माण चाहिन्छ। ७ मिटर चौडाको सडक हामी स्वीकार गर्दैनौं।”

यस मागलाई कार्यान्वयन गराउन उनले संघीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायमा पटक–पटक पहल गर्नुका साथै विभिन्न चरणका आन्दोलन र संघर्षसमेत गरेका थिए। सोही प्रयासको परिणामस्वरूप दादर बेरियादेखि कदमाहा हुँदै करिब एक किलोमिटर अगाडिसम्म १० मिटर चौडा सडक र नाला निर्माणको योजना स्वीकृत भई हाल निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

स्थानीयवासीले पनि वडा अध्यक्षको पहलबाट धनपालथान क्षेत्रमा दीर्घकालीन र गुणस्तरीय सडक पूर्वाधार निर्माण हुन थालेको भन्दै खुशी व्यक्त गरेका छन्।