मन्त्रीसँगै आफ्नै सचिवालयमा पनि हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी ।

मन्त्रीसँगै आफ्नै सचिवालयमा पनि हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी ।

कोशी आवाज २०८३ असार १८ गते बिहीबार ।

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीसँगै आफ्नो सचिवालयमा पनि हेरफेरको तयारी थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कार्यसमितिमा आएका सचिवालय सदस्यहरूलाई पार्टी काममै केन्द्रित गराउने प्रधानमन्त्री शाहको योजना रहेको उनको सचिवालयका एक सदस्यले बताए।

प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाह सह–महामन्त्री निर्वाचित भएका छन् भने नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल केन्द्रीय सदस्य बनेका छन्।

उनीहरूलाई सचिवालयबाट बिदा गरेर पार्टीको काममा केन्द्रित गराउने प्रधानमन्त्री शाहको योजना छ। उनले प्रमुख स्वकीय सचिव सुवास शर्मालाई पनि बिदा गर्न चाहेको सचिवालयका ती सदस्यले दाबी गरे।

राहदानी छपाइ ठेक्का प्रकरणमा असीम र सुदीपको भूमिकामाथि प्रश्नको उठेको छ भने सुवास शर्माको गतिविधि पनि प्रधानमन्त्री शाहलाई चित्त नबुझेको सचिवालयका एक सदस्यले नेपालखबरलाई बताए। ती सदस्यका अनुसार मन्त्रालयमा सचिव भन्दामाथि स्वकीय टिम खडा गर्ने निर्णय गरेका प्रधानमन्त्री शाहले सचिवालयका लागि पनि योग्य टिम निर्माणको गृहकार्य गरिरहेका छन्।