राजवंशी समाजमा एकता कायम गर्न मुख्यमन्त्री हिक्मत कार्कीसँग पहलको आग्रह ।

राजवंशी समाजमा एकता कायम गर्न मुख्यमन्त्री हिक्मत कार्कीसँग पहलको आग्रह ।

कोशी आवाज २०८३ असार १७ गते बुधबार ।

विराटनगर । राजवंशी समाज विकास समिति (रासविस) का निवर्तमान अध्यक्ष मनोज कुमार राजवंशीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई खुला पत्र लेख्दै राजवंशी समाजमा देखिएको विभाजन अन्त्य गरी एकता कायम गर्न पहल गरिदिन आग्रह गरेका छन्।

खुला पत्रमा विगत चार वर्षदेखि राजवंशी समाज विकास समिति विभाजित अवस्थामा रहेको उल्लेख गर्दै पटक–पटक भएका संवाद र सहमतिको प्रयास नेतृत्व तहको असहमति र अविश्वासका कारण निष्कर्षमा पुग्न नसकेको जनाइएको छ।

पत्रमा जेठ २३ गते भएको बैठकले एकताको आशा जगाए पनि नेतृत्व चयनको विषयमा पुनः मतभेद उत्पन्न भएपछि दुवै पक्ष अलग–अलग अधिवेशनतर्फ अघि बढेको उल्लेख गरिएको छ। यसले समुदायमा थप विभाजन र अन्योल सिर्जना गर्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

असार २० र २१ गते हुन लागेको अधिवेशनलाई विभाजनको आधार नभई एकताको अवसर बनाउन मुख्यमन्त्री कार्कीले निष्पक्ष भूमिका खेल्दै सबै पक्षलाई संवादको टेबलमा ल्याएर साझा अधिवेशनको वातावरण निर्माण गर्न आवश्यक पहल गरिदिन पत्रमार्फत आग्रह गरिएको छ।

निवर्तमान अध्यक्ष राजवंशीले कुनै व्यक्ति वा समूहको विजयभन्दा सम्पूर्ण राजवंशी समुदायको सम्मान, एकता र साझा भविष्य महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्रीको समन्वयकारी पहलले समुदायलाई नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरेका छन्।