विपद् प्रतिकार्यमा स्वयंसेवक तयार गर्न रङ्गेलीमा तालिम तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
कोशी आवाज २०८३ असार १५ सोमबार ।
बिराटनगर । मोरङको रङ्गेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा २०८३ असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको उक्त तालिम स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी आयोजना गरिएको थियो।
तालिमको समापन कार्यक्रम असार १५ गते रङ्गेली नगरपालिकाको सभा हलमा सम्पन्न भएको थियो। कार्यक्रम धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदारको आतिथ्यतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) मदनकुमार रसाइली, सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) रवि खड्काल, सशस्त्र प्रहरी बल नेपाल बी.ओ.पी. रङ्गेली, मोरङका बी.ओ.पी. प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष प्रसाद देवकोटा, प्रशिक्षक टोली तथा सहयोगी वर्गको उपस्थिति रहेको थियो।

तालिममा रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाका नगर प्रहरी १५ जना तथा स्थानीय नागरिक ५ जना गरी २० जना प्रशिक्षार्थी सहभागी भएका थिए। प्रशिक्षक ५ जनासहित कुल २६ जनाको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।