सुनवर्षी नगरपालिका वडा नं. ५ मा गर्भवती तथा सुत्केरी महिलाहरूलाई लक्षित गर्दै पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न
कोशी आवाज २०८३ वैशाख २९ गते मङ्गलबार ।
विराटनगर । सुनवर्षी नगरपालिका वडा नं. ५ मा गर्भवती तथा सुत्केरी महिलाहरूलाई लक्षित गर्दै पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। वडा कार्यालय टकुवाको आयोजनामा सम्पन्न कार्यक्रममा ७७ जना गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक पोषण सामग्री वितरण गरिएको हो।
महिलाहरूको स्वास्थ्य अवस्था सुधार गर्ने, कुपोषण न्यूनीकरण गर्ने तथा आमा र शिशुको स्वास्थ्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा सहभागी महिलाहरूलाई घिउ, चना, दाल, नुन, साबुन तथा खाने तेल वितरण गरिएको थियो।
स्थानीय वडा अध्यक्ष योगेश्वर प्रसाद ठाकुर, वडा सचिव अभिमन्यु दास, स्वास्थ्य चौकी इन्चार्ज किरणकुमार यादव, सि.अ.न.मि सिर्जना कार्की, महिला स्वयंसेविका तथा वडाका अगुवाहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म सन्तुलित आहारको महत्वबारे जानकारीसमेत दिइएको थियो।
स्वास्थ्यकर्मीहरूले गर्भवती तथा सुत्केरी महिलाले पोषणयुक्त खाना नियमित सेवन गर्नुपर्ने, सरसफाइमा विशेष ध्यान दिनुपर्ने तथा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराउनुपर्ने सुझाव दिएका थिए।
वडा कार्यालयका प्रतिनिधिहरूले आर्थिक अवस्था कमजोर भएका परिवारका महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका छन्। यस्ता कार्यक्रमले महिलाहरूमा स्वास्थ्य सचेतना बढाउनुका साथै शिशुको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी महिलाहरूले स्थानीय सरकारले आफूहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै आवश्यक सामग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।
वडा नं. ५ ले समुदायस्तरमा स्वास्थ्य, पोषण तथा सरसफाइसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।