प्रधानमन्त्री बालेनद्वारा विदेशी राजदूतसँग सामूहिक छलफल गर्ने ।

प्रधानमन्त्री बालेनद्वारा विदेशी राजदूतसँग सामूहिक छलफल आज

कोशी आवाज २०८२ चैत २५ गते बुधबार ।

विराटनगर । प्रधानमन्त्री Balen Shah ले आज विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। बालेन नेतृत्वको सरकार गठनपछि यस्तो किसिमको सामूहिक संवाद पहिलोपटक हुन लागेको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार आज मध्याह्न १२ बजेपछि हुने छलफलमा परराष्ट्र मन्त्री Shishir Khanal सहित उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले उक्त छलफल आयोजना गरिएको हो।

छलफलमा भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जनभन्दा बढी देशका राजदूतहरूलाई आमन्त्रण गरिएको छ। कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कूटनीतिक प्रतिनिधिहरूसँग व्यक्तिगत भेटको सट्टा सामूहिक संवादलाई प्राथमिकता दिइएको हो। काठमाडौंस्थित विभिन्न दूतावास तथा दातृ निकायका प्रमुखहरूबाट व्यक्तिगत भेटका लागि आएको अनुरोधलाई समेट्दै सामूहिक छलफल आयोजना गरिएको स्रोतले जनाएको छ।

गत चैत १३ गते पदभार सम्हालेका प्रधानमन्त्री शाहले यसअघि व्यक्तिगत रूपमा राजदूतहरूसँग भेट नगरेको उल्लेख गर्दै सचिवालयले यसलाई नयाँ कूटनीतिक अभ्यासका रूपमा व्याख्या गरेको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार यस पहलले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।