एकताबद्ध भएर अघि बढ्न सभापति गगन थापाको अपील ।
कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।
मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपील गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि सार्वजनिक सन्देश जारी गर्दै उनले नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट पारेका छन्।
सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभई पार्टी विधानअनुसार सम्पन्न भएको उल्लेख गर्दै निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टी विधानका आधारमा निर्णय गरेकोमा आभार व्यक्त गरेका छन्। उनका अनुसार यो निर्णय नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयासको साझा प्रतिफल हो।
थापाले पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले पार्टी चल्ने र बन्ने स्थापित भएको उल्लेख गर्दै नेपाली कांग्रेस आफ्ना मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको दाबी गरेका छन्। उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबैलाई संयमित, जिम्मेवार र एकताबद्ध हुन आग्रह गरेका छन्।
सभापति थापाले कांग्रेस अब नयाँ ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको र सुधार (रिफर्म) को यात्रा सुरु भइसकेको बताएका छन्। उनले आसन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।
यसै सन्दर्भमा उनले पार्टीका पूर्व सभापति शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तह र निकायमा रहेका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पार्टीलाई अघि बढाउन पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे।
सभापति थापाले अब पार्टीभित्र कुनै गुट नरहने र गुटगत भागबण्डा नहुने स्पष्ट गर्दै जिम्मेवारी फरक भए पनि भुइँतहका सदस्यदेखि सभापतिसम्म सबैको हैसियत समान रहने बताएका छन्। उनले नेपाली कांग्रेस सीमित नेता वा समूहको मात्र नभई आम जनताको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै देशभित्र र विदेशमा रहेका लाखौँ शुभेच्छुकहरूलाई पार्टीको रूपान्तरण यात्रामा साथ दिन आग्रह गरे।
थापाले कांग्रेसले विगतका कमजोरीप्रति आत्मालोचना गर्दै सुधारको संकल्प गरेको उल्लेख गर्दै अब मूल्य र सिद्धान्त विपरीत कुनै सम्झौता नगर्ने तथा सत्ताका लागि अप्राकृतिक गठबन्धनको अभ्यास अन्त्य गर्ने प्रतिबद्धता जनाए। साथै संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे।
अन्त्यमा सभापति थापाले ऐतिहासिक संघर्षमा योगदान दिएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजहरूप्रति सम्मान व्यक्त गरे। उनले समुन्नत नेपाल निर्माणको यात्रामा सबै नेपालीलाई सहभागी हुन पुनः हार्दिक अपील गरेका छन्।