निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्षको आपत्ति, “विधि र प्रक्रियाको धज्जी उडाइयो”।
कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।
मोरङ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएको निर्णयप्रति शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ। देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाएका छन्।
शुक्रबार निर्वाचन आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै प्रवक्ता महतले भने, “निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो। अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं।”
निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो। आयोगले आवश्यक कागजातहरूको अध्ययनपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिएको जनाएको छ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा चयन भएका थिए। सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको थियो।
उता, देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा छुट्टै कागजात पेस गरेको थियो। तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डामाथिको दाबी देउवा पक्षले गुमाएको छ।
निर्वाचन आयोगको निर्णयपछि नेपाली कांग्रेसभित्रको लामो समयदेखिको आधिकारिकता विवादले नयाँ मोड लिएको छ। अब देउवा पक्षले लिने आगामी कदमतर्फ राजनीतिक वृत्तको चासो बढेको छ।