१५औँ महाधिवेशनमा पूर्णबहादुर खड्कालाई सहयोग गर्ने देउवाको स्पष्ट सन्देश ।
कोशी आवाज २०८२ पुस १५ गते मंगलबार ।
आफू सभापतिको उम्मेदवार नबन्ने, प्रत्यक्ष चुनाव नै लड्ने घोषणा
मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्। मंगलबार बिहान सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले खड्का पार्टीको उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालिरहेको उल्लेख गर्दै उनलाई नै समर्थन गर्ने बताएका हुन्।
देउवाले पार्टी विधानअनुसार आफू फेरि सभापतिको उम्मेदवार बन्न नमिल्ने स्पष्ट पारे। “विधानले तीन पटकभन्दा बढी सभापति हुन नपाइने व्यवस्था गरेको छ। त्यसैले म अब सभापतिको उम्मेदवार हुँदिनँ,” देउवाले भने, “तर आगामी नेतृत्वले आवश्यक ठानेर सल्लाह मागे भने म सधैँ सहयोग गर्न तयार छु।”
पार्टीभित्र देखिँदै आएको नेतृत्व प्रतिस्पर्धाबारे प्रतिक्रिया दिँदै देउवाले डा. शेखर कोइराला र महामन्त्री गगन थापाको नाम सभापतिको आकांक्षीका रूपमा सुनिएको स्वीकार गरे। तर उनीहरूले आफूलाई प्रत्यक्ष रूपमा सहयोग मागेर कुरा नगरेको देउवाको भनाइ थियो। उनले आफूकहाँ आएका नेताहरूलाई समेत पूर्णबहादुर खड्कालाई नै सहयोग गर्ने स्पष्ट जवाफ दिएको बताए।
महाधिवेशनको समय र विशेष महाधिवेशनको बहसबारे बोल्दै देउवाले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा महाधिवेशन गर्दा पार्टीभित्र गुटगत असन्तुष्टि बढ्ने र त्यसको प्रत्यक्ष असर चुनावमा पर्न सक्ने चेतावनी दिए। “महाधिवेशनमा हार–जित भएपछि रिस–राग बाँकी रहन्छ, जसले चुनावमा पार्टीलाई कमजोर बनाउँछ,” उनले भने।
देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू डडेलधुराबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पनि स्पष्ट गरे। समानुपातिकतर्फ जान सुझाव आए पनि आफूले प्रत्यक्ष चुनाव नै लड्ने निर्णय गरेको उनको भनाइ थियो। “म कठिन परिस्थितिमा पनि प्रत्यक्ष चुनाव जितेर आएको हुँ, अन्तिमपटक पनि प्रत्यक्ष नै लड्छु,” देउवाले भने।
राष्ट्रिय सभाको निर्वाचन र सम्भावित गठबन्धनबारे भने अहिलेसम्म कुनै ठोस निर्णय नभएको उनले बताए। प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन नहुने संकेत गरे पनि राष्ट्रिय सभाको हकमा छलफलका लागि अझै समय बाँकी रहेको देउवाको भनाइ छ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आफूमाथि भएको आक्रमणको प्रसंग उठाउँदै देउवाले आफूलाई नेपाली सेनाका एक कर्णेल र जेन–जी युवाहरूले जोगाएको दाबी गरे। उनले उक्त आन्दोलनमा घुसपैठ भएको देखिएको र कांग्रेसका नेता तथा पार्टी संरचनामाथि बढी क्षति पुगेको पनि बताए।
देश पूर्ण रूपमा चुनावी मोडमा प्रवेश गरिसकेको उल्लेख गर्दै देउवाले निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए। सुरक्षाका चुनौती अझै कायम रहेको भन्दै उनले सबै पक्षलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरे।