कांग्रेस विभाजनले निर्वाचनमा असर नपर्ने प्रचण्डको दाबी

कांग्रेस विभाजनले निर्वाचनमा असर नपर्ने प्रचण्डको दाबी

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार।

मोरङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको आन्तरिक विभाजनले आगामी निर्वाचनमा कुनै असर नपर्ने बताएका छन्।

शुक्रबार चितवनस्थित भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस विभाजनपछि निर्वाचन प्रभावित हुन्छ कि हुँदैन भन्ने प्रश्न उठे पनि त्यसले चुनावलाई असर गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

निर्वाचनको मुखमा ठूलो राजनीतिक दल विभाजन हुनु कसैका लागि पनि सकारात्मक नहुने उल्लेख गर्दै प्रचण्डले सरकारका प्रतिनिधि, निर्वाचन आयोग तथा सुरक्षा निकायसँगको छलफलमा कांग्रेसका कारण निर्वाचन प्रभावित नहुने जवाफ पाएको बताए।

उनले सबै राजनीतिक दलहरू निर्वाचनकै तयारीमा केन्द्रित रहेकाले चुनाव हुने विषयमा ढुक्क हुन सबैलाई आग्रह गरे। साथै, आफ्ना पार्टीका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवारहरूको टिकट वितरण प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिए।

प्रचण्डले वर्तमान अवस्थामा निर्वाचन बाहेक अरू कुनै विकल्प नरहेको उल्लेख गर्दै अन्य विकल्पबारे सोच्न थालिए त्यसले दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए।