धनपालथानमा मोटरसाइकल दुर्घटना, आमा–छोरा घाइते ।

धनपालथानमा मोटरसाइकल दुर्घटना, आमा–छोरा घाइते ।

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार।

मोरङ। मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नं. ०४ अन्तर्गत गदिया खोलास्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक महिला र उनका सन्तान घाइते भएका छन्।

कर्सियाबाट रामचौकतर्फ जाँदै गरेको को. १६ प १०८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट अन्दाजी पाँच मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार धनपालथान गाउँपालिका वडा नं. ०३ निवासी २५ वर्षीया प्रतिमा मण्डलको दाहिने खुट्टा र छातीमा चोट लागेको छ।

त्यसैगरी, मोटरसाइकलमा सँगै सवार प्रतिमा मण्डलका अन्दाजी तीन वर्षीय छोरा प्रिन्स मण्डललाई बाहिरी चोट नदेखिए पनि थप उपचारका लागि दुबैलाई कोशी अस्पताल, विराटनगर पठाइएको छ। चिकित्सकका अनुसार आमा–छोराको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि मोटरसाइकल चालक धनपालथान गाउँपालिका वडा नं. ०४ निवासी अन्दाजी ३० वर्षीय कृष्ण मण्डल फरार रहेका छन्। उनको खोजतलास कार्य भइरहेको प्रहरी चौकी कर्सियाले जनाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको छ।