रास्वपा छाडेकी सुमना श्रेष्ठले भन्छन: अवसर नपाएर होइन, वैचारिक असहमति र लोकतान्त्रिक मूल्यको रक्षाका लागि पार्टीबाट बाहिरिएको कोशी आवाज २०८२ पुस १६ गते बुधबार।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्वनेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले सार्वजनिक अभिव्यक्तिमार्फत पार्टीभित्रको आन्तरिक लोकतन्त्र, प्रश्न गर्ने संस्कार र नेतृत्वको उत्तरदायित्वबारे तीखो टिप्पणी गरेकी छन्। उनले आफू अवसर नपाएर होइन, वैचारिक असहमति र लोकतान्त्रिक मूल्यको रक्षाका लागि पार्टीबाट बाहिरिएको स्पष्ट पारेकी छन्।
श्रेष्ठले व्यक्तिगत लाभ वा पदका लागि नभई देशका युवालाई समान अवसर दिलाउने र नेपालीलाई नेपाली भएर सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्ने एजेन्डासहित राजनीतिमा सक्रिय रहेको बताइन्। उनले अवसर नपाएर रास्वपा छाडेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरिन्।
पार्टीभित्र प्रश्न उठाउने आवाज दबाउने, मिडिया ट्रायल र साइबर बुलिङमार्फत चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै श्रेष्ठले यस्ता गतिविधिले लोकतन्त्रलाई नै समाप्त गर्ने चेतावनी दिइन्। उनले नयाँ रास्वपाभित्र उठिरहेका प्रश्नहरूलाई नेतृत्वले दमनको विषय होइन, सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन्।
दल, चुनाव चिन्ह र पद अस्थायी भए पनि जनताको आवाजको प्रतिनिधित्व गर्नु नै राजनीतिको स्थायी कर्म भएको उल्लेख गर्दै उनले रास्वपाभित्र लोकतान्त्रिक मूल्य–मान्यता जोगिँदै नयाँ सम्भावना फल्ने–फुल्ने वातावरण बनोस् भन्ने शुभकामना दिइन्।
सो क्रममा सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘नयाँ रास्वपा’ भनेर नामाकरण समेत गरेकी छन्।