चुनाव नजिकिँदै गर्दा गरिबी घटाउने स्पष्ट रोडम्याप माग्न मेयर हमालको अपिल ।

चुनाव नजिकिँदै गर्दा गरिबी घटाउने स्पष्ट रोडम्याप माग्न मेयर हमालको अपिल

कोशी आवाज २०८२ पुस १५ गते मंगलबार ।

मोरङ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आगामी चुनाव नजिकिँदै गर्दा आम नागरिकलाई दल र उम्मेदवारसँग गरिबी घटाउने स्पष्ट रोडम्याप माग्न अपिल गरेका छन्। उनले “गरिबी कसरी घट्छ र त्यसका लागि योजना के हो ?” भन्ने प्रश्नको स्पष्ट जवाफ बिना सुदूरपश्चिम अघि बढ्न नसक्ने बताएका छन्।

मेयर हमालका अनुसार चुनाव नजिकिँदै जाँदा विभिन्न दलका नेता र उम्मेदवार जनतामाझ आउने भए पनि नागरिकले भावनामा होइन, योजनामा आधारित निर्णय गर्नुपर्ने आवश्यकता छ। “चुनावको कुरा आइरहेको छ, नेताहरू आउँछन्। तर आम जनताले सोच्नैपर्ने कुरा के हो भने गरिबी घटाउन कुन दलसँग, कुन उम्मेदवारसँग के कस्तो रोडम्याप छ ? त्यो माग्नुपर्छ र अध्ययन गर्नुपर्छ,” उनले भने।

उनले स्पष्ट योजना बिना नेतृत्व चयन गरिए सुदूरपश्चिम कहिल्यै समृद्ध बन्न नसक्ने चेतावनी पनि दिए। “यदि यो भएन भने सुदूरपश्चिम कहिल्यै बन्दैन,” भन्दै उनले गरिबी न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

मेयर हमालले उम्मेदवारसँग प्रत्यक्ष रूपमा “तपाईं निर्वाचित भएपछि गरिबी कसरी घटाउनुहुन्छ ? तपाईंको स्पष्ट योजना के हो ?” भन्ने प्रश्न गर्न नागरिकलाई आग्रह गरे। उनले यही विषयलाई पुस १५ सम्म हुने राजनीतिक बहस र छलफलको मुख्य एजेन्डा बनाउन समेत सुझाव दिए।

उनका अनुसार सक्षम, योजनाबद्ध र जवाफदेही नेतृत्व चयन गर्न जनताले सचेत भूमिका खेल्नुपर्ने समय आएको छ। स्पष्ट योजना प्रस्तुत गर्न सक्ने उम्मेदवारलाई मात्र समर्थन गर्नु नै सुदूरपश्चिमको दीर्घकालीन विकासको आधार बन्ने उनको भनाइ छ।