रवि-बालेन बीचको एकतामा हस्ताक्षर आज, यस्तो छ सहमतिको खाका ।
कोशी आवाज २०८२ पुस १२ गते शनिबार
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको एकतासम्बन्धी सहमतिमा आज शनिबार हस्ताक्षर हुने भएको छ।
शुक्रबार साँझसम्म सहमतिको मस्यौदा तयार भए पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले हस्ताक्षर शनिबारका लागि सारिएको सहमति कार्यदलमा रहेका रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए।
“दुई नेताबीचको सहमतिमा शनिबार हस्ताक्षर हुन्छ,” खनालले भने, “त्यसको केही दिनपछि घोषणा सभा गरिनेछ।”
हाल सहमतिका अन्तिम खाकालाई पूर्णता दिन दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा जुटिरहेका छन्। सहमतिअनुसार बालेन्द्र शाहले रास्वपाको नीति, नेतृत्व, संगठन, झण्डा र निर्वाचन चिह्न ‘घण्टी’ स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने तयारी गरेको छ भने रवि लामिछाने पार्टी सभापति नै रहनेछन्।
सहमतिको प्रक्रियामा संलग्न नेताहरूका अनुसार आगामी निर्वाचनमा रास्वपाको प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह हुनेछन्। बालेनले पार्टीभित्र कुनै पनि सांगठनिक जिम्मेवारीको दाबी नगरेको दुवै पक्षको भनाइ छ। तर उनले जेन–जी प्रतिनिधित्वलाई कसरी समेट्ने भन्ने विषयमा चासो व्यक्त गर्दै आएका छन्।
सहमति अनुसार हालको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन नहुने जनाइएको छ। रास्वपातर्फबाट सहमतिको गृहकार्यमा उपसभापति डा. स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह सहभागी छन् भने बालेनतर्फबाट उनका सल्लाहकार कुमार बेन सहभागी रहेका छन्।