नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेश कमिटीलाई सपथ ग्रहण ।
नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेश कमिटीलाई सपथ ग्रहण ।

कोशी आवाज २०८२ भदौ २१ गते सनिवार ।

विराटनगर । नेपाल राष्ट्रिय बांग्ला समाजको नवगठित कोशी प्रदेश समितिका पदाधिकारीलाई विराटनगरमा आयोजित एक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको छ । विराटनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पार्थो सरकारले नवगठित प्रदेश कमिटीका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभयो ।

गत अषाढ ७ गते सुन्दरहरैंचामा सम्पन्न भेलाबाट रंगेली नगरपालिकाका प्रमोदकुमार चक्रबर्तीलाई इन्चार्ज तोकी ३७ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरिएको थियो । सोहि कमिटीलाई औपचारिक रुपमा सपथ ग्रहण गराइएको हो ।

सपथ ग्रहण कार्यक्रममा सहभागी भएर कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । स्वागत मन्तव्य राख्दै प्रदेश सदस्य तापस दासले बांग्ला भाषा, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले दुई वर्ष अघि समाजको केन्द्रीय कमिटी गठन गरिएको स्मरण गर्नुभयो ।

सोही अवसरमा तनुश्री मुखर्जीले रवीन्द्रनाथ टैगोरको बांग्ला कविता वाचन गर्नुभयो भने ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

समाजका अनुसार विराटनगर महानगरपालिकामा ९ हजार बढी, कोशी प्रदेशमा ३ लाख र देशभरमा करिब साढे ५ लाख बांग्ला भाषाभाषी बसोबास गर्दै आएका छन् ।