

विराटनगरमा मिनि ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
कोशी आवाज २०८२ भदौ ५ गते बिहीबार ।
मोरङ,रंगेली । विराटनगर महानगरपालिका–४ दुधफार्मस्थित कोशी राजमार्गमा भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी नायब उपरीक्षक रमेश भट्टराईको कमाण्डमा खटिएको चेकिङ टोलीले मिनि ट्रक (प्रदेश १–०२–००१क ५१८९) लाई रोकि ट्राफिकसहित संयुक्त रूपमा चेकजाँच गरिरहेको समयमा विपरीत दिशाबाट तीव्र गतिमा आएको मोटरसाइकल (प्रदेश १–०२–०४६ प ६४०१) मिनि ट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरी बरजु गाउँपालिका–६ का २८ वर्षीय पुष्प कुमार चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
दुर्घटनामा संलग्न मिनि ट्रक र चालक मोरङ बुढिगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोष कुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ भने मोटरसाइकल प्रहरी चौकी बरगाछिको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।