कांग्रेस महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी ।
कोशी आवाज २०८३ असोज २० गते मंगलबार ।
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा महिला महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।
कांग्रेसको संशोधित विधानअनुसार तीन महामन्त्रीमध्ये एक पद महिलाका लागि छुट्याइएको छ। उक्त पदका लागि डिनासँगै पार्टीकी सहमहामन्त्री डिला संग्रौलाले पनि उम्मेदवारी दर्ता गराएकी छन्।
डिना १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्। यसपटक सहमहामन्त्रीभन्दा माथिल्लो पदमा उम्मेदवारी दिने बताउँदै आएकी उनले महामन्त्री पद रोजेकी हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता प्रक्रिया जारी छ।