रतुवामाईमा जुवा खेलिरहेको अवस्थामा रास्वपाका वडा सभापतिसहित ७ जना पक्राउ ।

रतुवामाईमा जुवा खेलिरहेको अवस्थामा रास्वपाका वडा सभापतिसहित ७ जना पक्राउ ।

कोशी आवाज २०८३ मंसिर १ गते ।

बिराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ स्थित कपुर सुखबोका टोलबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापतिसहित सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई तीन बुक ताससहित नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट भारतीय रुपैयाँ १९ हजार ५२० र नेपाली रुपैयाँ १५ हजार ९०० गरी कुल नगदसमेत बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–२ का अरुणकुमार गनगाई, उपेन्द्रप्रसाद गनगाई र सुरज शाह, रतुवामाई–७ का कपिल साह तथा भारतको किशनगञ्ज जिल्लाका अजय सोनार, राजु सोनार र सुरज मण्डल रहेका छन्।

पक्राउ परेकामध्ये एक जना रास्वपा रतुवामाई नगरपालिका–७ का वडा सभापति रहेको जानकारी प्राप्त भएको छ। यद्यपि, उनको पार्टीगत जिम्मेवारीबारे प्रहरीले औपचारिक पुष्टि गर्न बाँकी रहेको छ।

पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।