शेख हसिनालाई बंगलादेश फर्काउन भारतको पहल, राख्यो दुई सर्त ।
कोशी आवाज २०८३ कार्तिक २८ गते शनिबार ।
बिराटनगर । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउने विषयमा भारतले पहल गरिरहेको खुलासा भएको छ। भारतमा शरण लिएर बसेको दुई वर्षभन्दा बढी समयपछि उनलाई बंगलादेश फिर्ता पठाउने विषयमा छलफल अघि बढेको बताइएको छ।
बीबीसी बंगलाको रिपोर्टअनुसार भारतले हसिनालाई फिर्ता पठाउन बंगलादेशसमक्ष दुई सर्त राखेको छ।
पहिलो सर्तअनुसार बंगलादेश सेनाले हसिनालाई सुरक्षित रूपमा फिर्ता लैजाने जिम्मेवारी लिनुपर्नेछ। दोस्रो सर्तमा उनलाई मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्ने तथा सन् २०२४ जुलाईमा भएको हिंसात्मक घटनासँग सम्बन्धित आरोपमा नयाँ मुद्दाको सामना गर्ने अवसर सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
यद्यपि, भारतले राखेको भनिएका यी सर्त र फिर्ता पठाउने प्रक्रियाबारे सम्बन्धित सरकारहरूको औपचारिक पुष्टि हुन बाँकी छ।