देवानगञ्जमा शहीद परिवारसँग भेटघाट गर्दै राप्रपा नेतृ खुश्बू ओली
कोशी आवाज २०८३ कार्तिक ११ गते बुधबार ।
विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा सांसद खुश्बू ओली सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज पुगेर हिन्दू शहीद परिवार तथा घाइतेहरूसँग भेटघाट गरेकी छन्।
शहीद परिवारको निमन्त्रणामा कप्तानगञ्ज पुगेकी ओलीले शहीदहरूको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारसँग संक्षिप्त अन्तरक्रिया गरेकी हुन्।
भेटघाटका क्रममा शहीद परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान गरी कानुनी कारबाही तथा सरकारले यसअघि गरेका प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेको ओलीले बताएकी छन्।
ओलीका अनुसार घटनापछि सरकारले मृतक परिवारलाई रोजगारीको अवसर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको भए पनि तीन महिना बितिसक्दा समेत प्रतिबद्धता कार्यान्वयन नभएको पीडित परिवारको गुनासो छ। शहीद परिवारले हालसम्म शहीद परिचयपत्रसमेत प्राप्त गर्न नसकेको उनले उल्लेख गरेकी छन्।
घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग पीडित परिवारको रहेको ओलीले बताइन्। साथै, घटनासँग सम्बन्धित विषयमा अझै केही हिन्दू युवाहरू पक्राउ परी जेलमा रहेको भन्दै उनीहरूको अवस्थाबारे समेत सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
ओलीले धार्मिक आस्थाका आधारमा कसैले पनि अन्याय भोग्नुपर्ने अवस्था लोकतान्त्रिक राज्यमा स्वीकार्य नहुने बताउँदै पीडित परिवारलाई दिइएका प्रतिबद्धता पूरा गर्न र घाइतेहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
उनले समस्या समयमै सम्बोधन नगरिए थप तनावपूर्ण परिस्थिति सिर्जना हुन सक्ने भन्दै सरकारलाई गम्भीरतापूर्वक कदम चाल्न आग्रह गरेकी छन्।
भेटघाटमा हिन्दू सम्राट सेना नेपाल, सुनसरी हिन्दू समाज, संयुक्त हिन्दू मोर्चा, विश्व हिन्दू परिषद्, हिन्दू स्वयंसेवक सङ्घ, बजरंग दललगायत विभिन्न हिन्दूवादी संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ।