रतुवामाईमा गोली चल्दा एक भारतीय नागरिक घाइते, १०० किलो गाँजासहित दुई पक्राउ

रतुवामाईमा गोली चल्दा एक भारतीय नागरिक घाइते, १०० किलो गाँजासहित दुई पक्राउ

कोशी आवाज २०८३ असोज ३०, शुक्रवार ।

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोला बगरमा गाँजा तस्करीको आशंकामा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घाइतेसहित दुई जना भारतीय नागरिकलाई करिब १०० किलो गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको जोगबनी निवासी ३९ वर्षीय प्रमोद चौधरी र महागामा ग्राम पञ्चायत–४ निवासी ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा चौधरीको घुँडामुनि गोली लागेको हो। घाइते चौधरीलाई थप उपचारका लागि रङ्गेली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २९ गते दिउँसो करिब १ः३० बजे गोविन्दपुरस्थित बक्राहा खोला बगरमा लुकाइछिपाइ राखिएको अवस्थामा आठवटा सेतो बोराभित्र ९६ किलो ४९० ग्राम गाँजा फेला परेको थियो। उक्त स्थानमा पुनः लागूऔषध कारोबार हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेको थियो।सोही क्रममा राति करिब ९ः२५ बजे गाँजा लिएर भारततर्फ जाँदै गरेका व्यक्तिहरूलाई प्रहरीले फेला पारेको जनाएको छ। प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेपछि नियन्त्रणमा लिने क्रममा गोली चलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनाका क्रममा हवाई फायरसमेत गरिएको थियो। त्यसपछि गोली लागेर घाइते भएका चौधरी र यादवलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनाको साथबाट थप गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बूले जानकारी दिए।