नेपाली कम्युनिस्ट पार्टी कानेपोखरी गाउँ समितिको अगुवा कार्यकर्ता भेला सम्पन्न ।

नेपाली कम्युनिस्ट पार्टी कानेपोखरी गाउँ समितिको अगुवा कार्यकर्ता भेला सम्पन्न ।

कोशी आवाज २०८३ असोज १३ गते मंगलवार ।

कानेपोखरी । नेपाली कम्युनिस्ट पार्टी कानेपोखरी गाउँ समितिको पालिकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।कानेपोखरी–२ स्थित आदिवासी जनजाति भवनको सभाहलमा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य, कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एवं मोरङ जिल्ला इन्चार्ज गणेश उप्रेती ‘सुशील’ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

भेलामा मोरङ जिल्ला संयोजक प्रेम मिभक ,पार्टीका केन्द्रीय सदस्यहरू हेम कार्की, दीपक भट्टराई, ओपेन्द्र राय, भोजवीर माझी तथा दुईमहिने अभियानका सहजकर्ता एवं केन्द्रीय सदस्य जयराज संयोगलगायतको उपस्थिति रहेको थियो। त्यस्तै प्रदेश सदस्यहरू राजेन्द्र मण्डल, अम्बिका अर्याल, तारा ओझा राजवंशी, मनोज कुमार राजवंशी, गोबरधन मुडियारी,हरि मैनाली, रोशन खत्री, जेन्जी कोशी प्रदेश सदस्य होमनाथ घिमिरेलगायत कानेपोखरी
गाउँपालिकाका सातवटै वडाका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलालाई सम्बोधन गर्दै नेताहरूले पार्टी संगठन निर्माणलाई प्रभावकारी बनाउन पार्टीको सर्कुलर, विधि, विधान, नीति तथा सिद्धान्तअनुसार एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

दुईमहिने अभियानअन्तर्गत पुराना पार्टी सदस्यहरूको सदस्यता नवीकरण, नयाँ सदस्यता विस्तार, वडा सम्मेलन हुँदै पालिका सम्मेलनसम्मको तयारीलाई तीव्र बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालित हुन निर्देशन दिइएको थियो।

प्रमुख अतिथि गणेश उप्रेती ‘सुशील’ले पार्टी संगठन व्यक्ति केन्द्रित नभई विधि, विधान, नीति र सिद्धान्तमा आधारित हुने बताए। उनले समग्र पार्टी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी प्रत्येक नेता तथा कार्यकर्ताको भएको उल्लेख गर्दै अभियानका क्रममा कानेपोखरीको समग्र भूगोललाई समेटेर इमानदारीपूर्वक संगठन निर्माणमा जुट्न निर्देशन दिए।


भेलाले दुईमहिने अभियानलाई सातवटै वडामा तीव्र बनाउन वडा तहमा जिम्मेवारीसमेत तोकेको छ।

जसअनुसार वडा नं. १ मा रोशन खत्री, वडा नं. २ मा बाबुराम चौधरी, वडा नं. ३ मा खवाई चौधरी, वडा नं. ४ मा दिलकुमारी सुब्बा, वडा नं. ५ मा प्रकाश धिमाल, वडा नं. ६ मा रोशन थुलुङ राई तथा वडा नं. ७ मा जयराज संयोग र होमनाथ घिमिरेलाई अभियान अवधिका लागि जिम्मेवारी दिइएको छ।

भेलाको अध्यक्षता पार्टीका केन्द्रीय सल्लाहकार ज्येष्ठ खुल्लु राजवंशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन पार्टीका प्रदेश सदस्य तथा पूर्वइन्चार्ज अम्बिका अर्यालले गरेका थ्ये।