केरौन सबस्टेशनबाट असोजभित्रै विद्युत् आपूर्ति सुरु हुने
कोशी आवाज २०८३ असोज ११ गते आइतबार ।
बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन बजार नजिक निर्माण भइरहेको केरौन १३२/३३ केभी सबस्टेशन आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भएको छ। करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त आयोजनाबाट असोज महिनाभित्रै विद्युत् आपूर्ति सुरु गर्ने तयारी भइरहेको इन्जिनियर राजेश साहले जानकारी दिएका छन्।
साहका अनुसार सबस्टेशनभित्र वायरिङ, ट्रान्सफर्मर जडान तथा अन्य प्राविधिक काम सम्पन्न भइसकेका छन्। पोल विस्तारसम्बन्धी कामसमेत पूरा भएको उनले बताए।
असोज १७ गते हाईटेन्सन लाइनबाट विद्युत् सटडाउन लिएर ट्रान्सफर्मर चार्ज गर्ने प्रक्रिया अघि बढाइएको साहले जानकारी दिए। ट्रान्सफर्मर चार्ज गर्न करिब २४ घण्टा समय लाग्ने भएकाले दुई दिनसम्म मोरङ र झापाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्नेछ।
सटडाउनका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट अनुमति लिनुपर्ने भएकाले त्यससम्बन्धी प्रक्रिया पनि अघि बढिरहेको साहले बताए। उनका अनुसार शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गरी आवश्यक प्राविधिक काम गर्ने तयारी गरिएको छ।
नेपाल सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको यो आयोजना विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो, गुणस्तरीय र स्थिर बनाउने उद्देश्यले अघि बढाइएको हो। नेपाल सरकारले करिब पाँच बिघा जग्गा खरिद गरी सबस्टेशन निर्माणका लागि उपलब्ध गराएको हो।
आयोजनाको निर्माण कार्य २०७८ साउन २७ गते सुरु भएको थियो। प्रारम्भिक ठेक्का अवधि २०८० कात्तिक २५ गतेसम्म रहेकोमा निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले म्याद थप गरी २०८१ कात्तिक २५ गतेसम्म पुर्याएको थियो।
केरौन सबस्टेशन सञ्चालनमा आएपछि हाल विराटनगरतर्फबाट पूर्वी क्षेत्रमा आपूर्ति हुने विद्युत् लाइनमा देखिँदै आएको कम भोल्टेजको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। नयाँ सबस्टेशनबाट विद्युत् आपूर्ति भएपछि लामो दूरीबाट विद्युत् प्रवाह गर्नुपर्ने अवस्था घट्ने र स्थानीय वितरण प्रणाली थप मजबुत हुने आयोजनाको भनाइ छ।
विशेषगरी बढ्दो जनसंख्या, शहरीकरण, कृषि विद्युतीकरण, उद्योग तथा व्यापारिक गतिविधिका कारण विद्युत्को माग बढिरहेका बेला नयाँ सबस्टेशन सञ्चालनले विद्युत् वितरणको क्षमता र विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केरौन सबस्टेशन सञ्चालनमा आएपछि रङ्गेली वितरण केन्द्रअन्तर्गतका रङ्गेली, सुनवर्षी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलो लगायतका क्षेत्रका विद्युत् उपभोक्ता लाभान्वित हुने आयोजनाले जनाएको छ।