भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनालगायत संयुक्त उद्धार टोलीद्वारा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनालगायत संयुक्त उद्धार टोलीद्वारा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ।

कोशी आवाज २०८३ भदौ १८ गते बिहिबार ।

विराटनगर । नेपाली सेनाले आज साँझ ७ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप १३ जनाको उद्धार गरेको छ। हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित जम्मा ३ हजार ९३५ जनाको उद्धार गरेको जनाएको छ।

टनेलभित्र खोज तथा उद्धार जारी

लाङटाङ हाइड्रोपावरको टनेलमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले करिब २०० मिटरभित्र प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजी कार्य गरिरहेको छ। टोली दोस्रो सेग्मेन्टतर्फ जाने तयारीमा रहेको छ। उक्त टनेलबाट हालसम्म २ वटा शव फेला परेका छन्।

त्यसैगरी चिलिमे हाइड्रोपावरमा पनि विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

त्रिशूली–३ए मा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकरको प्रयोग गरी टनेलको आउटलेटमा भरिएको लेदो, ढुङ्गा र बालुवा हटाउँदै करिब ३० मिटरभित्र पुगेको छ। खोजी कार्यका लागि थप उपकरण परिचालन गरिएको छ भने टनेलभित्र फेला परेको ठूलो ढुङ्गा ब्लास्टिङ गरी हटाउने र टनेल सफा गर्ने काम भइरहेको छ।

त्रिशूली–३बी मा नेपाली सेनाका ८९ जना, गैरसैनिक ३ जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको कार्यालय तथा निवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्न एक्स्काभेटर र बबक्याट प्रयोग गरेर बाटो बनाउने तथा माटो पन्छाउने काम गरिरहेको छ। टोली अडिट–१ बाट ४२६ मिटरभित्र प्रवेश गरेको छ भने थप मिनी एक्स्काभेटर पनि परिचालन गरिएको छ।

माथिल्लो त्रिशूली–१ मा आयोजनाका ३ जना इन्जिनियरसहितको टोलीले एक्सेस टनेल–१ बाट रबर बोटमार्फत डिसेन्डर बेसिन एक्सेस क्षेत्रतर्फ करिब २०० मिटर अगाडि बढ्दा टनेलको बन्द भाग फेला पारेको छ। सो क्षेत्रमा १ शव फेला परेको छ। अडिट टनेल–३ मा भने १ दशमलव ८ किलोमिटरसम्म अपस्ट्रिमतर्फ खोजी कार्य गरिएको छ।

देवीघाटमा पुल जडानको तयारी

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको छ। टोलीले पुल जडानका लागि आवश्यक बेस निर्माण गरिरहेको छ। गजुरीमा रहेको एक्रो ब्रिज त्रिशूलीतर्फ ल्याउने क्रममा रहेको बताइएको छ।

स्वास्थ्य सेवा र राहत सामग्री ढुवानी

प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा नेपाली सेनाले पैदल गस्ती गर्दै स्थानीयलाई सुरक्षा प्रत्याभूति दिनुका साथै डाक्टर अधिकृतसहित आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज ७३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। हालसम्म जम्मा ३ हजार २१५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

मित्रराष्ट्रहरूबाट प्राप्त करिब १ हजार ९०० केजी राहत तथा उद्धार सामग्री नेपाली सेनाको हवाई साधनमार्फत धुन्चे र त्रिशूलीमा ढुवानी गरिएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्यमा समन्वयात्मक रूपमा काम गरिरहेका छन्।