जनप्रतिनिधिले दिए एक महिनाको तलब, भोटेकोशी बाढीपीडितलाई धनपालथानबाट ३५ लाख सहयोग।
कोशी आवाज २०८३ भदौ १८ गते बिहिबार ।
बिराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धनपालथान गाउँपालिकाले ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

यसअन्तर्गत धनपालथान गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले आफ्नो एक महिनाको तलब बाढीपीडितका लागि सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेका छन्। जनप्रतिनिधिहरूको तर्फबाट ४ लाख २० हजार ५०० रुपैयाँ सहयोग संकलन हुने जनाएको छ।
गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ६ लाख ६३ हजार ४८२ रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट ४ लाख २० हजार ५०० रुपैयाँ, सम्पूर्ण कर्मचारीको तर्फबाट ८ लाख ४५ हजार ९६६ रुपैयाँ तथा विद्यालयका शिक्षक–कर्मचारीको तर्फबाट १५ लाख ७० हजार ५२ रुपैयाँ गरी कुल ३५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनाको कामना गरिएको छ।
#BhoteKoshiFlood #Dhanpalthan #Morang #ReliefSupport #KoshiAwaj