पाँच महिनापछि नेपाल फर्किँदै पूर्वप्रधानमन्त्री देउवा, स्वागतका लागि कार्यकर्तालाई विमानस्थल आउन आह्वान ।

पाँच महिनापछि नेपाल फर्किँदै पूर्वप्रधानमन्त्री देउवा, स्वागतका लागि कार्यकर्तालाई विमानस्थल आउन आह्वान ।

कोशी आवाज २०८३ श्रावण २३ गते शनिबार ।

बिराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनापछि नेपाल फर्किने भएका छन्। देउवा दम्पती साउन २६ गते नेपाल फर्किने कार्यक्रम रहेको कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

शनिबार काठमाडौंको बसुन्धारामा आयोजित नुवाकोट–१ का अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै महतले देउवाको स्वागतका लागि कांग्रेस नेता–कार्यकर्तालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आग्रह गरे।

महतका अनुसार देउवा दम्पतीको पूर्वनिर्धारित आगमन समय साउन २६ गते राति ९ः४५ बजे रहेको छ। यद्यपि, नेता–कार्यकर्तालाई सहज हुने गरी आगमनको समय दिउँसो मिलाउने प्रयास भइरहेको उनले बताए।

२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएका देउवा उपचारका लागि २०८२ फागुन १३ गते राति सिंगापुर गएका थिए। भारत भ्रमणमा रहेकी उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा पनि त्यही क्रममा सिंगापुर गएकी थिइन्।

थप उपचारका लागि उनीहरू २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसयता विदेशमै रहेका देउवा दम्पती साउन २६ गते नेपाल फर्किन लागेका हुन्।

यसैबीच, कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलालाई देउवाले सम्बोधन गर्ने बताइएको छ। भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।