पूँजी बजारलाई उच्च प्राथमिकतामा राखेका छौँ : प्रधानमन्त्री शाह
कोशी आवाज २०८३ श्रावण ४ गते सोमबार ।
विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पूँजी बजारमार्फत उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा लगानीमैत्री वातावरण निर्माण गर्नु सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो।
उहाँले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर अनियमितता र गलत कार्यप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो। नेपालको पूँजी बजारलाई थप व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन सबै पक्षलाई सहकार्यका साथ अघि बढ्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो।
छलफलमा पूँजी बजारका सरोकारवालाले कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए। नियमनकारी निकायका प्रतिनिधिहरूले प्राप्त सुझावलाई कार्यान्वयनयोग्य बनाउँदै पूँजी बजार सुधारका लागि आवश्यक नीति, कानुन तथा प्रणालीगत सुधारलाई चरणबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।