कानेपोखरीको राजनीति: दोषारोपण होइन, जिम्मेवारी निर्वाह गर्ने बेला आएको छ ।

कानेपोखरीको राजनीति: दोषारोपण होइन, जिम्मेवारी निर्वाह गर्ने बेला आएको छ ।

कोशी आवाज २०८३ श्रावण १ गते शुक्रबार ।

विराटनगर । स्थानीय सरकारको आलोचना गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो। तर आलोचना केवल चिया पसल, सामाजिक सञ्जाल वा निजी जमघटमा सीमित रह्यो भने त्यसले न त जनताको समस्या समाधान गर्छ, न त सुशासन स्थापित गर्छ। प्रश्न उठाउने साहससँगै समाधान खोज्ने जिम्मेवारी पनि नागरिक, राजनीतिक दल, समाजसेवी र सरोकारवालाको हुन्छ।

आज कानेपोखरी गाउँपालिकामा धेरैले “पालिकाले केही गरेन”, “अध्यक्षले काम गरेन”, “वडाध्यक्ष असफल भए”, “कर्मचारी निकम्मा छन्” भन्ने आरोप लगाउँछन्। तर मेरो एउटा मात्र प्रश्न छ—जनताको समस्या, विकासका योजना, सुशासनका माग र स्थानीय आवश्यकताहरू लिएर पालिकाको बैठक, वडा कार्यालय वा सम्बन्धित निकायमा कति जना पुगेका छन्? कति प्रतिपक्षी दलले तथ्य र प्रमाणसहित जनताको पक्षमा दबाब सिर्जना गरेका छन्? कति समाजसेवीले समाधानमुखी पहल गरेका छन्?

स्थानीय सरकार कुनै एक व्यक्तिको संस्था होइन, यो जनताको सरकार हो। अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरू आ–आफ्नो कानुनी अधिकार, बजेट, नीति र प्रक्रियाभित्र रहेर काम गर्छन्। उनीहरू सफल भए जनताको जित हुन्छ,

असफल भए त्यसको असर पनि जनतामै पर्छ। त्यसैले केवल आलोचना गरेर होइन, खबरदारी, सुझाव र जनदबाबमार्फत काम गराउनु नै लोकतान्त्रिक संस्कार हो।
कानेपोखरीमा विगतदेखि नै एमालेको राजनीतिक प्रभाव बलियो रहँदै आएको छ र हाल पनि गाउँपालिकामा एमालेको दुईतिहाइ बहुमत छ। त्यसैले विकास, सुशासन र सेवा प्रवाहको मुख्य जिम्मेवारी सत्तापक्षको काँधमा स्वाभाविक रूपमा बढी हुन्छ। तर यसको अर्थ प्रतिपक्ष मौन बस्ने भन्ने होइन।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस कहाँ छ? नेकपा ( नेपाली कम्युनिस्ट पार्टी) कहाँ छ? राप्रपा कहाँ छ? अन्य राजनीतिक दलहरू कहाँ छन्? जनताको आवाज बनेर स्थानीय सरकारलाई रचनात्मक दबाब दिने, नीति सुधारका प्रस्ताव राख्ने, अनियमितता भए प्रमाणसहित उजागर गर्ने र जनताको पक्षमा उभिने काम किन भइरहेको देखिँदैन?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक राजनीति र सुशासनको नारा दिएको थियो। तर कानेपोखरीमा त्यसको प्रभावकारी भूमिका लगभग शून्य देखिन्छ। केवल चुनावको बेला सक्रिय हुने र त्यसपछि हराउने राजनीति अब स्वीकार्य हुन सक्दैन। यदि वैकल्पिक शक्ति बन्ने दाबी गर्ने हो भने जनताको दैनिक समस्या, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र विकासका मुद्दामा निरन्तर उपस्थित हुनैपर्छ।

यता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति अभियानले फरक शैलीको राजनीति प्रस्तुत गरिरहेको छ। श्रम, जनसहभागिता र प्रत्यक्ष काममार्फत नागरिकसँग सम्बन्ध विस्तार गर्ने अभ्यासले परम्परागत दलहरूलाई चुनौती दिएको छ। यसबाट पनि अन्य दलहरूले सिक्नुपर्ने धेरै कुरा छन्।

लोकतन्त्रमा सरकारलाई आलोचना गर्नु आवश्यक छ, तर आलोचना जिम्मेवारीबोधसहित हुनुपर्छ। सामाजिक सञ्जालमा स्टाटस लेख्दै, चिया पसलमा गफ गर्दै वा व्यक्तिको चरित्र हत्या गर्दै समाज परिवर्तन हुँदैन।

परिवर्तन तब हुन्छ जब नागरिकले प्रश्न पनि गर्छ, समाधान पनि दिन्छ, प्रतिपक्षले खबरदारी पनि गर्छ र सरकारलाई जनताको पक्षमा काम गर्न बाध्य पनि बनाउँछ।

अब कानेपोखरीमा दोषारोपणको राजनीति होइन, जिम्मेवारीको राजनीति आवश्यक छ। सत्ता पक्षले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ। प्रतिपक्षले सशक्त निगरानी गर्नुपर्छ।
समाजसेवीले निष्पक्ष आवाज उठाउनुपर्छ।

नागरिकले आफ्नो अधिकारसँगै कर्तव्य पनि सम्झनुपर्छ।

जनताको सरकारलाई जनताले नै सही दिशामा हिँडाउनुपर्छ। लोकतन्त्रमा मौनता सबैभन्दा ठूलो कमजोरी हो, र जिम्मेवार खबरदारी नै सबैभन्दा ठूलो शक्ति।

मनोज राजबंशी