उपसभामुख रुवी कुमारी ठाकुर पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान ।
कोशी आवाज २०८३ असार ३१ गते बुधबार ।
विराटनगर । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार चीन प्रस्थान गरेकी छन्।
उनी जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको निङ्चीमा आयोजना हुने पाँचौं चीन–तिब्बत ट्रान्स–हिमालय अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्समार्फत चीन गएकी हुन्।
प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल रहेका छन्।
असार ३१ देखि साउन २ गते (१५–१७ जुलाई २०२६) सम्म सञ्चालन हुने उक्त मञ्चमा उपसभामुख ठाकुरले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मञ्चमा हिमालय क्षेत्रको दिगो विकास, क्षेत्रीय सहकार्य तथा आपसी सम्बन्ध विस्तारका विषयमा छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा उपसभामुख ठाकुर र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय भएको छ। साथै अन्य उच्चस्तरीय भेटघाटहरू पनि हुनेछन्।
प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते दिउँसो १२ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।