रात्रिभोज कार्यक्रममा गोली चलेपछि अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया ।
कोशी आवाज २०८३ वैशाख १३ गते आइतबार ।
विराटनगर । डोनाल्ड ट्रम्पद्वारा आयोजित एक रात्रिभोज कार्यक्रममा गोली चलेपछि उनले सुरक्षा व्यवस्थाबारे प्रतिक्रिया दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले कार्यक्रमअघि आफ्नो सुरक्षा टोलीलाई कुनै पनि सम्भावित खतरासम्बन्धी सूचना नआएको बताए। पत्रकारहरूले पहिले नै कुनै संकेत आएको थियो कि भनेर सोध्दा उनले त्यस्तो कुनै जानकारी नभएको स्पष्ट पारे।
ट्रम्पका अनुसार घटनाको उद्देश्यबारे आफूलाई हालसम्म जानकारी छैन। तर, संदिग्ध व्यक्ति निकै खतरनाक देखिएको उनले बताए। उनका अनुसार ती व्यक्ति करिब ५० गज टाढाबाट दौडिँदै आएका थिए र सुरक्षाकर्मीले तुरुन्तै प्रतिक्रिया जनाउँदै हतियार निकालेका थिए।
अधिकारीहरूले क्यालिफोर्नियामा रहेको संदिग्धको अपार्टमेन्टमा पुगेर अनुसन्धान सुरु गरेका छन्। शनिबार राति भएको उक्त घटनाको उद्देश्यबारे प्रहरीले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले राजनीतिक व्यक्तित्वमाथि हुने आक्रमणका घटनाबारे आफूले धेरै अध्ययन गरेको उल्लेख गरे। प्रभावशाली व्यक्तिहरू नै प्रायः निशानामा पर्ने गरेको भन्दै उनले अब्राहम लिंकनको उदाहरण दिए।
यसअघि पनि ट्रम्पमाथि ज्यान मार्ने प्रयास भएका छन्। सन् २०२४ जुलाईमा बटलर, पेन्सिलभेनियामा आयोजित चुनावी सभामा उनीमाथि गोली प्रहार गर्ने प्रयास भएको थियो।
ट्रम्पले उक्त घटनासँग तुलना गर्दै यसपटकको सुरक्षा व्यवस्था अझ मजबुत रहेको बताए।
उक्त कार्यक्रम वासिङ्टन, डी.सी. स्थित हिल्टन वासिङ्टनमा आयोजना गरिएको थियो। कार्यक्रममा उपराष्ट्रपति जेडी भान्ससहित मन्त्रीहरू र उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो। सार्वजनिक भएको भिडियोमा बन्दुकधारी व्यक्ति होटलभित्र दौडिँदै प्रवेश गरेको देखिन्छ।