राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आयोजना कार्यक्रम ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजना कार्यक्रम ।

कोशी आवाज २०८२ चैत १५ आइतबार ।

काठमाडौं । दान कार्कीको प्रमुख आतिथ्यतामा “नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी” सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आईजीपी कार्कीले प्रशिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउँदै संगठनको लक्ष्य हासिल गर्न सक्षम र दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छन्।

उनले प्रस्तावित तालिम क्यालेण्डर प्रशिक्षण आवश्यकता मूल्याङ्कन (TNA) का आधारमा तथ्यांक विश्लेषण, संगठनको आवश्यकता, प्रहरी कर्मचारीको वृत्ति विकास, प्रशिक्षण केन्द्रहरूको क्षमता र जनशक्ति मूल्याङ्कनसमेत समेटेर तयार गरिएको उल्लेख गर्दै सन्तोष व्यक्त गरे। साथै, यस्तो तालिम कार्यक्रमले नेपाल प्रहरीलाई थप सक्षम र व्यावसायिक बनाउने विश्वास व्यक्त गरे।

आईजीपी कार्कीले प्रशिक्षण केन्द्रहरूलाई तालिम कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिँदै वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने जनशक्ति विकास गर्न आग्रह गरे।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी बिक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गर्दै सबै तालिम प्रदायक कार्यालयहरूको तर्फबाट प्रतिबद्धता जनाएका थिए। उनले वार्षिक तालिम क्यालेण्डरअनुसार प्रशिक्षण गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने, समान प्रकृतिका तालिमहरूको प्रक्रिया तथा गुणस्तरमा एकरूपता कायम गर्ने र असल अभ्यासहरूलाई प्रशिक्षण केन्द्रहरूबीच समन्वय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा प्रहरी प्रशिक्षण प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा व्यापक छलफलसमेत गरिएको थियो।