विशेष महाधिवेशन पक्षधर आधिकारिक कांग्रेस भएको दाबी गर्दै थापा–शर्माद्वारा निर्वाचन आयोगमा पत्र ।
कोशी आवाज २०८२ पुस ३० गते बुधबार ।
मोरङ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगमा पत्र पठाएको छ।
महामन्त्री गगन थापा र नेता विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि काठमाडौंको भृकुटीमण्डपमा उपस्थित रहेको दाबी गर्दै विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक हुने उल्लेखसहित निर्वाचन आयोगमा पत्र पठाएका हुन्। पत्रमा यसअघिको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबीसमेत गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षबाट पत्र प्राप्त भइसकेको पुष्टि गरेका छन्।
‘दुवै पक्षको पत्र प्राप्त भइसकेको छ। पत्र अहिले राजनीतिक शाखामा छ र अध्ययन भइरहेको छ,’ प्रवक्ता भट्टराईले नेपालखबरसँग बताए।
यसअघि कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निलम्बन गरेको थियो। निलम्बनपछि सभापति शेरबहादुर देउवाले पनि निर्वाचन आयोगमा पत्र पठाइसकेका छन्।
यता, भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।