नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची समयमै बुझाउन सकेन ।
कोशी आवाज २०८२ पुष १५ गते मंगलबार।
मोरङ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची तोकिएको समयभित्र निर्वाचन आयोगमा बुझाउन सकेको छैन। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहानसम्म पनि नामावली बुझाउन नसकिएको स्वीकार गरेका छन्।
निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते (आइतबार र सोमबार) बुझाउन समय तोकेको थियो। सोहीअनुसार कांग्रेसभित्र रातभर सूची टुंग्याउने प्रयास भए पनि प्रक्रिया पूरा हुन सकेन।
सुरुवाती चरणमा नेता मीन विश्वकर्मा र मुख्य सचिव पौडेल नामावली लिएर निर्वाचन आयोग पुगेका थिए। त्यसपछि मंगलबार बिहान करिब ४ बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग पुगेका थिए। तर बुझाउन लगिएको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीले नामावली स्वीकार गरेनन्।
त्यसपछि महामन्त्री शर्माले मुख्य सचिव पौडेल र नेता विश्वकर्मालाई सभापतिको हस्ताक्षर गराउन महाराजगञ्जस्थित देउवा निवास पठाएका थिए।
मुख्य सचिव पौडेलले सञ्चारमाध्यमसँग कुरा गर्दै भने,
“अहिले हामी निर्वाचन आयोग बाहिर छौं, काम टुंग्याउँदैछौं।”
समाचार तयार पार्दासम्म कांग्रेसको टोली आयोग फर्किसकेको थिएन।
यद्यपि निर्वाचन आयोगका एक कर्मचारीका अनुसार कांग्रेसले यसअघि नै निवेदन दिएको र सनाखत प्रक्रिया पूरा भइसकेकाले आवश्यक कागजात पूरा भए आजै पनि नामावली बुझाउन सकिने अवस्था रहेको छ।
सभापतिको हस्ताक्षर अभावमा प्रक्रिया रोकिएपछि कांग्रेसभित्र समानुपातिक सूची टुंग्याउने विषयमा अझै सहमति जुट्न बाँकी रहेको संकेत देखिएको छ। अब पार्टीले समयमै आवश्यक प्रक्रिया पूरा गर्न सक्छ कि सक्दैन भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।