राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने नै रहने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने नै रहने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमति

कोशी आवाज २०८२ पुष १३ गते आइतबार ।

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने नै रहने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमति भएको छ। दुवै पक्षबीच भएको सहमतिले आगामी राजनीतिक सहकार्यको स्पष्ट खाका प्रस्तुत गरेको छ।

सहमतिअनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य हासिल गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने उल्लेख गरिएको छ।

सहमति अनुसार बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” नै रहनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो रङ्गको गोलाकारभित्र निलो रङ्गको घण्टीको आकृति रहनेछ भने निर्वाचन चिन्ह पनि “घण्टी” नै हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने तय गरिएको छ।

संगठनात्मक संरचनाका सन्दर्भमा, बृहत् एकतापछि पार्टीलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित समायोजन गरिनेछ। जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमतिमा उल्लेख छ।

आसन्न आम निर्वाचन लगत्तै यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने पनि सहमतिमा समेटिएको छ। साथै, पार्टीको सिद्धान्त, नेतृत्व र निर्वाचन चिन्ह “घण्टी”मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने निर्णय गरिएको छ।