रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न
कोशी आवाज २०८३ असोज २६ गते सोमबार ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित बखरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । समुदायमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने र सर्वसाधारणलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा चौथो चरण अन्तर्गत निःशुल्क आँखा जाँच शिविर भएको हो ।
विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा आँखासम्बन्धी समस्याको प्रारम्भिक पहिचान, मोतियाबिन्दुको शल्यक्रिया आवश्यक पर्ने व्यक्तिहरूको पहिचान चस्मा आवश्यक पर्ने व्यक्तिहरूलाई सहयोग गरिएको थियो।
शिविरबाट कुल २८४ जना लाभान्वित भएका छन्। लाभान्वितमध्ये १०९ जना विद्याथी, १७५ जना अभिभावक र स्थानीय समुदाय रहेका छन्। शिविरका क्रममा ३८ जनालाई चस्मा वितरण गरिएको थियो भने १९ जनामा मोतियाबिन्दुको शल्यक्रिया आवश्यक पर्ने पहिचान गरिएको थियो।
आँखाको नियमित परीक्षणको महत्त्वबारे जनचेतना फैलाउनुका साथै दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान र उपचारमा पहुँच बढाउन शिविरले महत्त्वपूर्ण योगदान पुर्याएको छ।
समुदायको स्वास्थ्य प्रवद्र्धन, रोगको समयमै पहिचान तथा गुणस्तरीय जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले रोटरी क्लब अफ विराटनगर डाउनटाउनको जनस्वास्थ्य तथा सामुदायिक सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।