गाईको दूध बेचेर आएको आम्दानी र विद्यालयमा खाजा खान दिइएको पैसाको आधा हिस्सा बचत गरेर समाजसेवामा लगानी गर्ने एक युवाको प्रेरणादायी कथा यतिबेला चर्चामा

गाईको दूध बेचेर आएको आम्दानी र विद्यालयमा खाजा खान दिइएको पैसाको आधा हिस्सा बचत गरेर समाजसेवामा लगानी गर्ने एक युवाको प्रेरणादायी कथा यतिबेला चर्चामा छ। उनी हुन्न नवीन बुढाथोकी।

कोशी आवाज २०८३ भदौ १८ गते बिहीबार ।

विराटनगर । नवीन बुढाथोकीको अध्यक्षतामा सञ्चालन हुँदै आएको ‘पूर्णिमा सहयोगी संस्था (पूर्णिमा फाउन्डेसन)’ लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएको छ। आर्थिक रूपमा कमजोर, असहाय तथा विभिन्न अभाव र समस्यामा परेका मानिसहरूको सहयोग र समस्या समाधानमा संस्था निरन्तर लागिरहेको छ।

नवीनका अनुसार मानिसको परिवार सानो वा ठूलो, धनी वा गरिब हुनु मात्र महत्त्वपूर्ण होइन। परिवार सही सोच र असल व्यवहार भएको हुनुपर्छ भन्ने विश्वासका साथ उनी समाजसेवामा निरन्तर सक्रिय छन्।

स्थानीयवासीहरूका अनुसार नवीनले हृदयदेखि नै निस्वार्थ र निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्दै आएका छन्। वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाहरूको अभाव खड्किँदै गएको समयमा समेत उनले धेरै घरपरिवारलाई आफ्नै छोराछोरी वा परिवारका सदस्यसरह साथ र सहयोग गर्दै आएका छन्।

खान र लगाउनसमेत कठिनाइ भइरहेको परिवारदेखि सडकमा खाली खुट्टा हिँडिरहेका बालबालिकासम्मलाई सहयोग गर्न उनी सधैं तत्पर रहने स्थानीयहरू बताउँछन्।

आफ्नो समाजसेवाप्रतिको प्रतिबद्धता सुनाउँदै नवीन भावुक हुँदै भन्छन्, “म मान्छेहरूको लायक छु कि छैन, मलाई थाहा छैन। तर भगवान्को आशा र आशीर्वाद लिएर भए पनि यस्ता कामहरू गरिरहनेछु। समाजका लागि अझ धेरै काम गर्ने मेरो प्रयासलाई निरन्तरता दिनेछु।”

स्थानीयहरूका अनुसार नवीनको सहयोगी स्वभाव बाल्यकालदेखि नै देखिन्थ्यो। घरबाट धान पिस्न मिलमा लैजाँदा पनि आफ्नो काम सकेपछि मिल वरिपरि रहेका आर्थिक रूपमा कमजोर मानिसहरूलाई सकेको सहयोग गर्ने गर्थे। उनको यही सहयोगी बानीका कारण परिवारका सदस्यहरूले उनलाई मिलमा जानसमेत खासै अनुमति नदिने गरेको स्थानीयहरू सम्झन्छन्।

वर्तमान समयमा नवीन बुढाथोकी धेरै अशक्त, असहाय र बेसहारा मानिसहरूको भरोसा र आवश्यकताका रूपमा स्थापित हुँदै गएका छन्।

उनको समाजसेवी यात्रामा साथ दिन हाल केही साथीहरू पनि अगाडि सरेका छन्। अबेश साह, रोहित राजवंशी र टेकबहादुर राजवंशी आर्थिक तथा अन्य सहयोगमार्फत उनको अभियानमा जोडिएका छन्।

त्यस्तै, आर्थिक रूपमा प्रत्यक्ष सहयोग गर्न नसके पनि निरन्तर साथ र हौसला प्रदान गर्नेमा वैदेशिक रोजगारीमा रहेका महेश कार्की र सुमन खत्री तथा विराटनगरमा रहेका यशवन्त भट्टराई रहेका छन्।

आफ्नो यात्रामा परिवारको योगदान सम्झँदै नवीन अन्त्यमा निकै भावुक हुँदै भन्छन्—

“म आज जहाँ छु, मेरा दिदीबहिनीहरूको साथ, माया र आशीर्वादकै कारण छु। मेरा आठ दिदीबहिनीको हात र आशीर्वाद सधैं मेरो शिरमाथि रहिरहोस्।”

सानो उमेरदेखि बचत गरेको पैसा समाजको सेवामा खर्च गर्ने नवीन बुढाथोकीको यो यात्रा साँच्चिकै प्रेरणादायी छ। आफ्नै आवश्यकता सीमित राखेर अरूको जीवनमा खुशी र आशा बाँड्ने उनको अभियानले समाजमा मानवता अझै जीवित छ भन्ने सन्देश दिएको छ।