निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दियो

निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दियो

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार।

मोरङ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले थापालाई पार्टी सभापतिका रूपमा मान्यता दिएको हो।

बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा चयन भएका थिए। सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको थियो।

निर्वाचन आयोगले पेश गरिएका सम्पूर्ण कागजातको अध्ययनपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिएको जनाएको छ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानी काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न भएको थियो। आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डामाथिको अधिकार शेरबहादुर देउवा पक्षले गुमाएको छ।

देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिर गर्दै निर्वाचन आयोगमा छुट्टै कागजात पेस गरेको थियो। तर आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक ठहर गरेसँगै नेपाली कांग्रेसभित्रको लामो समयदेखिको विवादले नयाँ मोड लिएको छ।