बुढीगंगामा विद्युत् सर्टबाट आगलागी, तेह्र लाख बराबरको क्षति ।

बुढीगंगामा विद्युत् सर्टबाट आगलागी, तेह्र लाख बराबरको क्षति ।

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार

मोरङ। मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. २ स्थित मुस्लिम टोलमा विद्युत् सर्ट भई आगलागी भएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी घटनास्थलमा खटिई स्थानीय बासिन्दा तथा दुहबी नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका क्रममा विराटनगर महानगरपालिकाबाट सञ्चालनमा रहेको वारुण नियन्त्रण (दमकल) ढिलो आएको भन्दै आक्रोशित स्थानीयले दमकलमाथि ढुंगा–मुढा प्रहार गरेका थिए। सो क्रममा दमकल टोलीका सदस्य मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. ०६ निवासी ४७ वर्षीय वसन्त राजवंशीको नाकमा सिसा लागी सामान्य चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र विराट टिचिङ अस्पताल, गंगाचौकमा उपचार भइरहेको छ। घटनामा दमकलको अगाडिको सिसामा समेत क्षति पुगेको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि चौपायाको क्षति भएको छ। प्राप्त विवरणअनुसार बुढीगंगा गाउँपालिका वडा नं. २ निवासी मञ्जुल मियाँको गाईगोठमा आगलागी हुँदा गाई–१, बाछा–१ र बाख्रा–३ जली नष्ट भएका छन्। साथै गाईगोठ पूर्ण रूपमा जली नष्ट भई अन्दाजी आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी, सोही स्थान निवासी तफेबुलको घरमा आगलागी हुँदा गाई–१, बाछा–१ र बाख्रा–२ जली नष्ट भएका छन् भने घर आंशिक रूपमा जली नष्ट भई अन्दाजी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

उक्त आगलागी घटनाबाट जम्मा अन्दाजी १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।