महामन्त्री थापालाई बुद्धिजीवीहरूको सुझावः कांग्रेसमा विधि–पद्धति स्थापित गर्न विशेष महाधिवेशन आवश्यक।
कोशी आवाज २०८२ पुस २३ गते बुधबार।
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई पार्टीभित्र विधि र पद्धति स्थापित गर्न विशेष महाधिवेशन आह्वान गर्न बुद्धिजीवीहरूले सुझाव दिएका छन्।
पार्टीको संस्थापन पक्षले विधान र पद्धतिबाहिर गएर असहमत समूहलाई किनारामा पार्ने प्रयास गरिरहेको निष्कर्ष निकाल्दै बुद्धिजीवीहरूले त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमार्फत पार्टी रूपान्तरण र पुस्तान्तरण आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।
बुधबार काठमाडौंमा महामन्त्री थापासहित विशेष महाधिवेशन पक्षधर नेताहरू र बुद्धिजीवीबीच भएको छलफलमा विशेष महाधिवेशनको औचित्य, वैधानिकता र सम्भावित चुनौतीबारे गम्भीर छलफल गरिएको थियो।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुद्धिजीवी सुदर्शन आचार्यले पार्टी संस्थापन पक्षले महामन्त्रीहरूलाई कारबाही गर्न सक्छ कि भन्ने प्रश्नसमेत छलफलमा उठेको जानकारी दिए। उनले पार्टी विधान र मुलुकको संविधानअनुसार अघि बढ्दा महामन्त्रीहरूलाई कारबाही गर्ने कुनै आधार पार्टी केन्द्रसँग नरहेको स्पष्ट पार्दै दृढतापूर्वक विशेष महाधिवेशनको बाटो समाउन सुझाव दिइएको बताए।
उनका अनुसार पार्टी रूपान्तरणमार्फत मुलुकको राष्ट्रिय राजनीतिले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई विश्वस्त बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
बुद्धिजीवी अरुण सुवेदीले विशेष महाधिवेशन पक्षधरहरू अहिले ‘पोइन्ट अफ नो रिटर्न’को अवस्थामा पुगेको उल्लेख गर्दै बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता सुनिश्चित भए विशेष महाधिवेशन गर्नुपर्ने सुझाव दिएको बताए। उनले बहुसंख्यक प्रतिनिधिको सहभागिताबाट चयन भएको नेतृत्वले मात्रै वैधानिकता पाउने स्पष्ट गर्दै कुनै पनि हालतमा पार्टी विभाजनतर्फ जान नहुने चेतावनी दिए।
बुद्धिजीवी प्रताप पौडेलले नेपाली कांग्रेस नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याए। परिवर्तित कांग्रेसले मात्रै युवाहरूको भावना अनुसार काम गर्न सक्ने र राष्ट्रिय राजनीतिक चुनौतीहरूको सामना गर्न सक्षम हुने भन्दै नेतृत्व र नीति परिवर्तनका लागि अग्रसर हुन सुझाव दिएका थिए।
त्यसैगरी बुद्धिजीवी विश्वकुमार केसीले पार्टी परिवर्तन, नीति र नेतृत्व रूपान्तरणमार्फत समाजमा विश्वास पुनःस्थापित गर्ने महामन्त्री थापाको कदमप्रति छलफलमा सहभागी सबैले समर्थन जनाएको बताए। उनले नेताले जोखिम लिन सक्नुपर्ने उल्लेख गर्दै जोखिम नलिनु स्वयं अर्को जोखिम हुने धारणा राखे।
उनले भने, “नेपाली कांग्रेसलाई परिवर्तन गरेर जाने, नीति र नेतृत्व रूपान्तरणमार्फत समाजमा विश्वास स्थापित गर्ने जुन कदम चालिएको छ, त्यसमा उपस्थित सबैको समर्थन रहेको छ। केदारभक्त माथेमाले भनेझैँ नेताले जोखिम लिन सक्नुपर्छ, जोखिम नलिनु पनि अर्को जोखिम हो।”
विशेष महाधिवेशन पक्षधर समूहले यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान गरिसकेको छ। पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको इच्छा र सहमतिविपरीत महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। उनीहरूले पार्टी नेतृत्वलाई महाधिवेशनको अपनत्व लिन आग्रहसमेत गरेका छन्।