विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेसको स्पष्ट ।

विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेसको स्पष्ट ।

कोशी आवाज २०८२ पुष २३ गते बुधबार

विराटनगर । नेपाली कांग्रेसले पार्टीको विधान बमोजिम नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको स्पष्ट पारेको छ।

पौष २३ गते जारी गरिएको प्रेस विज्ञप्तिमा कांग्रेसले मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा स्वीकृत गरिसकेको र सोही अनुसार प्रक्रिया अघि बढिरहेको जनाएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै “विधान बमोजिम समयमै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने” भनी गरिएको मागको औचित्य मंसिर १५ गतेदेखि नै समाप्त भइसकेको केन्द्रीय कार्यसम्पादन समितिको मिति २०८२ पौष १८ गतेको बैठकले स्पष्ट गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

 

महाधिवेशनको पहिलो चरण अन्तर्गत क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई प्रमुख कार्यका रूपमा लिइएको कांग्रेसले जनाएको छ। पार्टी विधान अनुसार केन्द्रीय महाधिवेशन अघि वडा अधिवेशन अनिवार्य हुने र क्रियाशील सदस्यहरू नै वडा अधिवेशनका प्रथम मतदाता हुने तथ्यसमेत कांग्रेसले स्मरण गराएको छ।

विज्ञप्तिमा तोकिएको कार्यतालिका अनुसार क्रियाशील सदस्यताको सूची समयमै केन्द्रीय कार्यसमितिमा पेश हुन नसकेको उल्लेख गरिएको छ। साथै, मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा दर्ता भइसकेको जानकारी पनि दिइएको छ।

यसैबीच, विदेशस्थित केही नेपाली जनसम्पर्क समितिहरूले अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन गरिसकेको र नेपालभित्र क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया निरन्तर जारी रहेको कांग्रेसले जनाएको छ।

केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार अधिवेशन तथा महाधिवेशनका कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा केही पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा विशेष महाधिवेशन आह्वान गरेको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ।

कांग्रेसले पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कसैलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ। विधान विपरीत गरिने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई पार्टीले अपिल गरेको छ।

साथै, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार दर्ता भइसकेको सन्दर्भमा पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राख्दै सबै तहका संगठन, सदस्य, समर्थक र शुभेच्छुकहरूलाई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा लाग्न नेपाली कांग्रेसले आह्वान गरेको छ।