बंगलादेशमा धार्मिक अल्पसंख्यकको सुरक्षा अवस्था भयावह, सामूहिक बलात्कारदेखि हत्या सम्मका घटनाले आक्रोश ।
कोशी आवाज २०८२ पुस २२ गते मंगलबार ।
विराटनगर । बंगलादेशमा धार्मिक अल्पसंख्यक समुदायको सुरक्षास्थिति दिनप्रतिदिन भयावह बन्दै गएको छ। झेनाइदाह जिल्लामा हिन्दु समुदायकी ४४ वर्षीया एकल महिलामाथि सामूहिक बलात्कार र अमानवीय कुटपिट भएको घटनाले देशभर आक्रोश फैलिएको छ।
घटना झेनाइदाह जिल्लाको कालीगन्ज क्षेत्रअन्तर्गत एक गाउँमा भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार आरोपितहरूले महिलामाथि बलात्कार गरेपछि उनलाई रुखमा बाँधेर कुटपिट गरेका थिए। घटनाका क्रममा महिलाको कपाल काटिएको र सम्पूर्ण घटनाक्रम मोबाइल फोनमा रेकर्ड गरिएको बताइएको छ।
पीडित महिलाले सोमबार कालीगन्ज प्रहरी कार्यालयमा चार जनाविरुद्ध जाहेरी दर्ता गराएकी छन्। प्रहरीका अनुसार घटनामा संलग्न ४५ वर्षीय हसन नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ भने अन्य आरोपितहरू फरार रहेका छन्। फरार अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार पीडित महिलाले करिब दुई वर्षअघि सो गाउँमा घर तथा जग्गा खरिद गरेकी थिइन्। जग्गा खरिदपछि साहिन नामका एक आरोपितले महिलामाथि निरन्तर दबाब दिने र पैसा माग्ने गरेको खुलेको छ।
शनिबार साँझ महिलाका दुई पुरुष आफन्त उनलाई भेट्न आएका बेला साहिन र हसन जबरजस्ती घरभित्र पसेका थिए। आरोपितहरूले आफन्तहरूलाई एउटा कोठामा थुनेर महिलालाई अर्को कोठामा लगेर बलात्कार गरेका थिए। त्यसपछि महिला र उनका आफन्तलाई घरबाट बाहिर निकालेर रुखमा बाँधिएको र झुटा आरोप लगाउँदै कुटपिट गरिएको प्रहरीले जनाएको छ।
महिला आफ्ना १० वर्षीय छोरासँग बस्दै आएकी थिइन्। गम्भीर घाइते अवस्थामा स्थानीयले उनलाई उद्धार गरी अस्पताल पुर्याएका थिए। उपचारकै कारण उजुरी दर्ता गर्न ढिलाइ भएको प्रहरीले स्पष्ट पारेको छ।
१८ दिनमा चार हिन्दु समुदायका व्यक्तिको हत्या
यसैबीच, बंगलादेशमा पछिल्लो १८ दिनको अवधिमा चार जना हिन्दु समुदायका व्यक्तिको हत्या भएको छ। सोमबार साँझ जेसोर जिल्लाको मोनिरामपुर क्षेत्रमा ३८ वर्षीय हिन्दु व्यापारी राणा प्रताप वैरागीको गोली हानी हत्या गरिएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले उनलाई कार्यस्थलबाट बाहिर निकालेर नजिकैको गल्लीमा गोली प्रहार गरेका थिए, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको हो। आक्रमणकारीहरू घटनापछि फरार भएका छन्।
यसअघि डिसेम्बर १८, २४ र २९ तारिखमा पनि विभिन्न स्थानमा तीन जना हिन्दु नागरिकको हत्या भइसकेको थियो। लगातार भइरहेका यस्ता घटनाले बंगलादेशमा धार्मिक अल्पसंख्यक समुदायको जीवन र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
मानव अधिकारकर्मी तथा अल्पसंख्यक अधिकारसम्बन्धी संस्थाहरूले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न र अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारसँग माग गरेका छन् ।