कांग्रेसमा विशेष महाधिवेशनको तयारी, पुस २७–२८ का लागि भृकुटीमण्डपको हल बुक ।
कोशी आवाज २०८२ पुष १७ गते बिहिवार ।
बिराटनगर । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी स्वरूप पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित हल बुक गराएका छन्।
केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार नियमित महाधिवेशनको सम्भावना सकिएपछि पार्टी स्वतः विशेष महाधिवेशनतर्फ अघि बढेको हो। उनले नेपाल प्रेससँग कुरा गर्दै हल बुकिङ भइसकेको जानकारी दिँदै भनिन्, “उहाँहरू अहिले सानेपा जाँदै हुनुहुन्छ। त्यहाँ पुगेपछि सभापतिलाई आफ्नो तयारीबारे जानकारी गराउनुहुनेछ।”
यसअघि कांग्रेसका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए। पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग भएको तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ। सोही प्रावधानअनुसार महामन्त्रीद्वयले प्रक्रिया अघि बढाएका हुन्।
यद्यपि, कांग्रेसको संस्थापन पक्ष भने नियमित कार्यतालिका परिवर्तन गरी आम निर्वाचनपछि मात्र महाधिवेशन गर्ने पक्षमा रहेको बताइएको छ। यस विषयमा पार्टीभित्र मतभेद चुलिँदै गएको देखिन्छ।