कांग्रेस महामन्त्री थापाः नेतृत्व परिवर्तन नगरी चुनावमा जान सकिँदैन

कांग्रेस महामन्त्री थापाः नेतृत्व परिवर्तन नगरी चुनावमा जान सकिँदैन ।

कोशी आवाज २०८२ पुष १० गते बिहीबार ।

बिराटनगर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधिसभा चुनावअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्।

बैठकमा थापाले नेतृत्व परिवर्तन नगरी चुनावमा जान असम्भव रहेको स्पष्ट पार्दै भने, “आसन्न प्रतिनिधिसभा चुनावअघि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य छ। नेतृत्व परिवर्तन नगरी चुनावमा जान सकिँदैन।”

थापाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बाह्रखरीसँग भने, “यदि नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने तपाईंहरू जो–जो चुनाव लड्नुहुन्छ लड्नुहोस्, म भने चुनाव लड्दिनँ।”

महामन्त्री थापाले नेपाली कांग्रेसको महाधिवेशन अब पार्टीभित्रको मात्र विषय नरहेको उल्लेख गर्दै नेतृत्व चयन र परिवर्तन जनचासोको विषय बनिसकेको बताए। “नेपाली कांग्रेसको महाधिवेशन अब कांग्रेसको मात्रै सरोकारको विषय होइन, यो आम जनसरोकारको विषय बनिसकेको छ,” उनले भने।

उनले चुनावको समयमा जनताले नेतृत्व परिवर्तनबारे प्रश्न गर्ने भएकाले त्यसको स्पष्ट उत्तर दिन सक्ने अवस्था आवश्यक रहेको उल्लेख गरे।

महामन्त्री थापाको यो अभिव्यक्तिलाई कांग्रेसभित्र नेतृत्व, महाधिवेशन तथा आगामी चुनावी रणनीतिसँग जोडेर हेरिएको छ, जसले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी बहसलाई अझ तीव्र बनाउने संकेत गरेको छ।