पत्रकार वीरेन्द्र शाहद्वारा गम्भीर बिरामी बालकको सम्पूर्ण उपचार गरिदिने प्रतिबद्धता ।
कोशी आवाज २०८२ पुस १० गते बिहिवार
मोरङ । सुनबर्सी नगरपालिका वडा नं. २, सुँगा निवासी ए.भी. न्यूजका पत्रकार, मोरङ जिल्ला संयोजक तथा हिमपात मिडियाका सञ्चालक वीरेन्द्र कुमार शाहले सुनबर्सी नगरपालिका वडा नं. ९ का कारी सहनीका गम्भीर बिरामी छोरा सुरज साहनीको सम्पूर्ण उपचार गरिदिने प्रतिबद्धता जनाएका छन्।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण सुरज साहनी विगत पाँच दिनदेखि गम्भीर अवस्थामा उपचारबाट वञ्चित भएका थिए। सुरुमा पैसा नहुँदा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि धरान रेफर गरिएको थियो। धरानमा एक दिन मात्र उपचार गरिएपछि आर्थिक अभावकै कारण बिरामीलाई घर फर्काउनुपरेको परिवारले जनाएको छ।
सुरज साहनी विभिन्न रोगबाट ग्रसित भई गम्भीर अवस्थामा रहेका छन् भने उनकी आमा समेत अपाङ्गता भएकी छन्। यस विषयमा कोशी आवाज मिडियामार्फत तथा व्यक्तिगत रूपमा धेरै नेताहरू र सरोकारवालासँग सहयोगको अपिल गरिए पनि हालसम्म कसैबाट सहयोग नआएको बताइएको छ।
यसैबीच, पत्रकार वीरेन्द्र शाहले मानवीय भावना देखाउँदै सुरज साहनीको सम्पूर्ण उपचारको जिम्मा लिने प्रतिबद्धता जनाएका छन्। उनले पीडितको घरमै एम्बुलेन्स पठाई हाल निरो अस्पतालमा उपचार गराइने जानकारी दिएका छन्।
पत्रकार शाहले यसअघि पनि सुनबर्सी नगरपालिका तथा अन्य स्थानका थुप्रै विपन्न र पीडित परिवारलाई सहयोग गर्दै आएका छन्। उनको यस कदमलाई स्थानीय स्तरमा उदाहरणीय कार्यको रूपमा हेरिएको छ।