रंगेलीमा ‘सिंगा हाइना’ देखापरेको सूचना, प्रहरी र वन कार्यालय सतर्क

रंगेली,मोरङ । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मोरङको रंगेली नगरपालिका–५ क्षेत्रमा ‘सिंगा हाइना’ नामक जंगली जनावर देखापरेको सूचना प्राप्त भएको छ।

घटना कार्तिक २३ गते राति करिब १:३० बजेको हो। स्थानीय बासिन्दा र अनलाइन समाचार माध्यमहरूबाट प्राप्त सूचनाका आधारमा उक्त जनावर मानिस र पशुपंक्षीहरूलाई आक्रमण गर्न सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएको थियो।

सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय रंगेलीबाट गाडी, मोबाइल टोली र QRT सहितको प्रहरी समूह घटनास्थलतर्फ खटिएको थियो।

स्थलगत अनुसन्धानका क्रममा प्रहरीले स्थानीयहरूसँग बुझ्दा, केही दिनअघि भारतको सीमावर्ती गाउँहरूमा पनि यस्तै प्रकारको जनावर देखा परेको तथ्य फेला परेको बताएको छ।

हाल रंगेली नगरपालिका–५ का विभिन्न बस्तीहरूमा समेत सो जनावर देखिएको पुष्टि भए पनि हालसम्म कुनै पनि स्थानमा आक्रमणको घटना नघटेको प्रहरीको भनाइ छ।

सो विषयमा जिल्ला वन कार्यालयलाई समेत जानकारी गराइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।