मोरङको धनपालथानबाट भारततर्फ तस्करी हुँदै गरेका ३७ वटा बङ्गुर सशस्त्रद्वारा नियन्त्रण ।

मोरङको धनपालथानबाट भारततर्फ तस्करी हुँदै गरेका ३७ वटा बङ्गुर सशस्त्रद्वारा नियन्त्रण ।

कोशी आवाज २०८३ श्रवण १ गते शुक्रबार ।

बिराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ स्थित मायागञ्ज नाकाबाट भारततर्फ तस्करी हुँदै गरेका ३७ वटा बङ्गुर सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। बरामद गरिएका बङ्गुरको अनुमानित मूल्य रु. १ लाख ११ हजार रहेको छ।

आज बिहान करिब ११ बजे नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक साइकलमा बोराभित्र राखेर बङ्गुर भारततर्फ लैजाँदै गरेका तस्करहरू सशस्त्र प्रहरीको टोली देख्नेबित्तिकै बोरासहित बङ्गुर छाडेर भारततर्फ फरार भएका थिए। सशस्त्र प्रहरीले घटनास्थलबाट सुरुमा ३० वटा र त्यसपछि थप ७ वटा गरी कुल ३७ वटा बङ्गुर नियन्त्रणमा लिएको हो।

नेपाल सीमा सुरक्षा बल गुल्म सोरभागका डीएसपी गोविन्द पोखरेलका अनुसार नियन्त्रणमा लिइएका बङ्गुरको पशु क्वारेन्टाइन कार्यालयका पशु चिकित्सक डा. बिदुर विद्युत गौतमबाट स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बङ्गुर आजै सम्बन्धित भन्सार कार्यालयमा बुझाइने उहाँले जानकारी दिनुभयो।

डीएसपी पोखरेलले सीमा क्षेत्रमा हुने तस्करी तथा अन्य अवैध गतिविधिविरुद्ध सशक्त निगरानी जारी रहेको बताउँदै यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको सशस्त्र प्रहरी कार्यालयमा सम्पर्क गरी सूचना दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो।

उहाँका अनुसार करिब दुई महिनाअघि नेपाल सीमा सुरक्षा बल गुल्म सोरभागको नेतृत्व सम्हालेयता सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका गतिविधि प्रभावकारी बन्दै गएका छन्। यस अवधिमा सशस्त्र प्रहरीले पटक–पटक तस्करीका सामान बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै सीमा सुरक्षालाई थप सुदृढ बनाउँदै आएको छ।