नयाँ संसद् भवन पूर्ण तयारीमा: गृहमन्त्री अर्याल

नयाँ संसद् भवन पूर्ण तयारीमा: गृहमन्त्री अर्याल ।

कोशी आवाज २०८२ सायद ६ गते शुक्रबार।

बिराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल ले नयाँ संसद् भवनको निर्माण तथा व्यवस्थापन पक्षको निरीक्षण गर्दै भवन पूर्ण रूपमा सञ्चालनका लागि तयार रहेको बताएका छन्।

निरीक्षणका क्रममा उनले प्रतिनिधि सभा को छुट्टै बैठक सञ्चालन गर्न सकिने र आवश्यक परे राष्ट्रिय सभा सँग संयुक्त बैठक गर्नसमेत आवश्यक पूर्वाधार तयार रहेको जानकारी दिए।

उनका अनुसार भवनमा कार्यव्यवस्था समितिको बैठक कक्ष तथा सभामुखको कार्यकक्ष समेत निर्माण सम्पन्न भइसकेको छ। “निर्माण पक्षबाट सबै तयारी पूरा भएको छ। प्रतिनिधि सभाको अलग बैठक र दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि आवश्यक संरचना तयार अवस्थामा छन्,” मन्त्री अर्यालले भने।

त्यस्तै, शपथ ग्रहण मात्र नभई पूर्ण अधिवेशन सञ्चालन गर्न मिल्ने गरी भवन तयार गरिएको उनको भनाइ छ। सिट व्यवस्थापन र फर्निचरलाई ‘सन्तोषजनक’ भन्दै उनले माइक तथा डिजिटल स्क्रिन जडानको काम पनि तीव्र गतिमा भइरहेको बताए।

अस्थायी व्यवस्थापनका बाबजुद फर्निचर र प्रविधिको प्रयोग प्रभावकारी देखिएको र बाँकी कामहरू पनि द्रुत रूपमा अघि बढिरहेको मन्त्री अर्यालले उल्लेख गरे।