विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल कांग्रेस महामन्त्री चयन ।
कोशी आवाज २०८२ पुस ३० गते बुधबार ।
मोरङ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्रीमा चयन भएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्रीमा चयन गरिएको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे महामन्त्रीमा चयन भएको जानकारी दिएका छन्।
कांग्रेस विधानअनुसार पार्टीमा दुई महामन्त्री रहने व्यवस्था छ। निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो, जसअनुसार महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दर्ता गराएका थिए।
हाल अन्य पदाधिकारीहरूको टुंगो लगाउन महामन्त्री गगन थापा र पदाधिकारीका उम्मेदवारहरूबीच छलफल भइरहेको बताइएको छ।
उल्लेखनीय छ, कांग्रेसको १४औँ महाधिवेशनमा प्रदीप पौडेल सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री पदका उम्मेदवार बनेका थिए। सो महाधिवेशनमा पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।